‘पैसा अन्तै गयो, सडकमा नारा–जुलुस गरेर ब्याज घट्दैन’

पाेखरा | फागुन २२, २०७९

‘पैसा अन्तै गयो, सडकमा नारा–जुलुस गरेर ब्याज घट्दैन’

बैंकले ब्याज बढाएर आर्थिक र मानसिक तनाव दिएको भन्दै व्यापारीहरु विरोधस्वरुप सडकमा उत्रिए पनि तत्कालै ब्याजको दर घट्ने सम्भावना न्यून छ । 

 

पोखरामा केही अघि उद्योग वाणिज्य संघको अगुवाइमा व्यापारीहरुले ब्याजदर नघटाए अर्थ मन्त्रालय र राष्ट्र बैंक घेर्ने चेतावनी दिएका थिए । बैंक तथा बित्तीय संस्थाले एकोहोरो ब्याज बढाएर धराशायी बनाएको आरोप लगाइरहँदा राष्ट्र बैंकले भने त्यसप्रति चासो राखेको पाइएन । 
 

 

बैंकले बढाएको ब्याजदर र व्यवसायीको आन्दोलनका विषयमा जिज्ञासा राख्दा नेपाल राष्ट्र बैंक प्रदेश कार्यालय पोखराले नारा, जुलुस वा कुनैपनि प्रकारको आन्दोलनले ब्याज घट्न नसक्ने बताएको छ । 

 

‘हामीसँग अहिले सूचना अधिकारी हुनुहुन्न, मैले आधिकारिक धारणा राख्न नमिले पनि केन्द्रीय कार्यालयले यस विषयलाई गम्भीररुपमा लिएको छैन’ बैंकका एक उच्च अधिकारीले भने । 

 

उनका अनुसार कोभिडअघि लिएको रिनको ब्याज अहिले आएर बढाइएको भएपनि प्रतिशतकाआधारमा त्यसलाई ‘अधिक’ भन्न नमिल्ने उनको भनाई छ । ‘कोभिडअघि वाणिज्य बैंकले ११ प्रतिशत ब्याजमा रिन दिने गरेका थिए’ उनी भन्छन् ‘अहिले औसत ब्याजदर १२.७९ पुगेको छ ।’ 

 

ब्याजदर विरुद्ध देशभर आन्दोलन नै हुन थालेपछि वाणिज्य बैंकहरुले ब्याज कम गर्न छलफल भने चलाउन थालेको उनले बताएका छन् । उनले भने ‘बैंकहरुले श्रेणीअनुसार कम गराउन परामर्श सुरु गरेको जानकारी पाएका छौं ।’

 

हाल आर्थिक कारोबारमा ‘टर्नओभर’ नभएकाले व्यापारीहरुलाई रिन र ब्याजले तनाव दिएको बताउँदै उनले बैंकबाट लिइएको ठूलो राशी अनुत्पादक क्षेत्रमा लगानी भएको आशंका गरेका छन् । 

 

‘बैंकको पैसा शेयर मार्केट र रियल स्टेटमा पुगेको देखिन्छ’ बैंकको अनुसन्धान शाखामा आबद्ध वरिष्ठ कर्मचारी भन्छन् ‘त्यहाँबाट पैसा थप रकम बटुलेर फर्कने सम्भावना छैन, अहिलेकै अवस्थामा बेचबिखन गर्दा झन् बढी घाटा छ ।’ त्यस्तै, सरकारले पूँजीगत खर्च गर्न नसक्दा पनि बजारमा पैसाको अभाव भएको बताउँदै उनले सोही कारण व्यापारीहरु तनावमा परेको टिप्पणी गरे । 

 

अनुसन्धान अधिकारीले बजारमा पैसा नभएको ३ प्रमुख कारण बताइरहँदा बैंकको केन्द्रीय कार्यालयअन्तरगत बैंक तथा बित्तीय नियमन विभागका एक अधिकारीले अन्य कारणसमेत समावेश गरे । 

 

उनका अनुसार वाणिज्य बैंकहरुले विशेषतः व्यवसायिक कर्जा प्रवाहलाई प्राथमिकता दिन्छन् । जसको उद्देश्य देशको कूल गार्हस्थ उत्पादनमा टेवा पुगोस् भन्ने हो । तर वास्तविकता केही फरक पाइएको उनको भनाई छ । 

 

अनुसन्धान अधिकारीकै भनाइलाई आधार मान्ने हो भने वाणिज्य बैंकहरुले मुद्दती खातामा निक्षेपकर्तालाई दिएको ब्याजलाई मापन गर्दा तत्कालै ऋणीहरुलाई ब्याजदर घटाउन बैंकले दबाब दिन सक्दैन । 
 

 

मुद्दतिमा बढी ब्याज दिनुपर्दा केही वाणिज्य बैंकले ‘बेस रेट’ मिलाउन केही प्रतिशत ब्याजदर बढाएर लिने गरेको पाइएको उनले उल्लेख गरे ।  

 

‘राष्ट्र बैंकको १८ विभाग छन्, विभागले रिन दिने संस्थामात्र हैन, रिन लिनेमाथि पनि अध्ययन÷अनुसन्धान गरिरहेको हुन्छ’ उनले भने ‘पैसा अन्तै गयो, व्यापारिक क्षेत्रले लिएको रिनबाट जिडिपीमा ०.२ प्रतिशतमात्र योगदान छ, अब आफै बुझ्नुहोस् ।’

 

अध्ययन÷अनुसन्धानमा देखिए अनुसार व्यापारीहरुले बैंकबाट लिएको व्यावसायिक कर्जाबाट गाडी किनेको, छोराछोरीलाई विदेश पठाएको, घरजग्गामा लगानी गरेको पाइएको छ । 

 

‘सबैलाई एउटै बास्केटमा हालेर भन्न खोजिएको हैन तर शहरोन्मूख क्षेत्रमा एउटा प्रयोजनकालागि लिएको रकम अन्यत्र लगानी गरेको पाइएको छ’ उनले भने । 

 

राष्ट्र बैंक सुत्रले त्यसो भनिरहे पनि ठ्याक्कै विश्वास गर्न कठिन भएको बताउँछन् नेपाल बैंकर्स एशोसियशन गण्डकी च्याप्टरका अध्यक्ष समीर केसी । ‘पछिल्लो समय हेर्दा त्यस्तो हो की जस्तो लाग्छ’ केसी भन्छन् ‘तर भनाइलाई पुष्टी गर्ने आधिकारिक तथ्यांक छैन ।’ यद्यपि विश्लेषण गर्दा गलत नै मान्न नसकिने केसी स्वीकार्छन् । 
 

 

एशोसियशनले जनाए अनुसार बैंकहरुबीच ब्याज कति घटाउन सकिन्छ भनेर अनौपचारिक कुराकानी भने भएको छ । खुल्ला अर्थतन्त्रमा यति नै ब्याज लिने भनेर तोक्न नमिल्ने भन्दै उनले कोभिडकालमा तरलताकाकारण सस्तो भएको ब्याज अहिले केही बढेकै बताए ।

 

‘व्यवसायीहरु पनि मर्कामा परेको एशोसियशनले महशुस गरेको छ’ केसीले भने ‘तर ब्याजदरको विषय राष्ट्रि«य मुद्दा हो, सरकार र राष्ट्र बैंकले नै पहल गर्नुपर्छ ।’ मुख्यतः स्थिर ब्याजदरको पोलिसी नबनुञ्जेल आगामी दिनमा पनि समस्या निरन्तर हुन सक्ने केसीको ठम्याई छ । 
 

 

सामान्यतयः आर्थिक मन्दीकै कारण समस्या निम्तिएको बताउँदै उनले समस्याको जड राष्ट्रिय नभई अन्तर्राष्ट्रिय भएकाले आर्थिक मन्दी छाएको बताए । 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्